नागार्जुनका मेयर बस्नेत साढे ९ करोड घुस लिएको मुद्दामा दोषी ठहर
२०८२ असार ६, शुक्रबार १८:२२
काठमाडौं । नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत घुस लिएकोसम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । अख्तियारद्वारा दायर भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको संयुक्त इजलासले उनलाई दोषी ठहर्याएको छ । नेपाली कांग्रेसबाट दुईपटक निर्वाचित भएका मेयर बस्नेतले स्वार्थ गाँसिएका पद्मा कोलोनी प्रालिका सञ्चारक अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रूपैयाँ घुस लिएको ठहर विशेष अदालतले गरेको छ । उनले घुसबापत प्राप्त गरको रकम र जग्गा विभिन्न व्यक्तिलाई बिक्री वितरणसमेत गरेकोमा १३ करोड १२ लाख ७३ हजार ३२ रूपैयाँ सम्पत्ति शुद्धीकरण गरेको पुष्टि हुन आएको आदेशमा उल्लेख छ । घुस दिने राजु र निलम्बित मेयर बस्नेतको सजाय निर्धारणका लागि यही असार १६ गते पेशी तोकिएको छ । बस्नेतकी पत्नी उर्मिलाले भने सफाइ पाएकी छन् ।