आन्दोलित शिक्षकहरुले चौथो दिन पनि वार्ता अस्वीकार

काठमाडौँ — सरकारसँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै नेपाल शिक्षक महासंघले शनिबार पनि आन्दोलनलाई निरन्तरता दिएको छ । देशभरबाट बुधबारदेखि काठमाडौंमा भेला भएका शिक्षकहरूले माइतीघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन जारी राखेका छन् ।

शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यालयको शैक्षिक गतिविधि र एसईईको उत्तरपुस्तिका परीक्षण कार्यसमेत प्रभावित भएको छ ।

शिक्षा मन्त्रालयले सार्वजनिक अपिल र पत्राचार गर्दै वार्तामा बस्न आह्वान गरे पनि महासंघले भने अस्वीकार गर्दै आएको हो । शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले शिक्षकसँग वार्तामा बस्ने वातावरण बन्न नसकेको बताए । ‘विज्ञप्ति जारी गरेर, शिक्षक महासंघलाई पत्राचार गरेर संवादमा डाकेका छौं,’ उनले भने, ‘उहाँहरू वार्तामा बस्न तयार हुनुभएको छैन ।’

शिक्षक आन्दोलन लम्बिँदै जाँदा देशभरका विद्यालयका शैक्षिक गतिविधि र एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षणलगायत कार्य प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ । चैत १८ मा एसईई परीक्षा सकिएर उत्तरपुस्तिका संकलन भइरहेको छ ।

शिक्षक आन्दोलन नरोकिए एसईईको उत्तरपुस्तिका परीक्षणमा समेत ढिलाइ हुने प्रवक्ता सापकोटाले बताए । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने कार्यतालिका तय गरेको छ । समयमा उत्तरपुस्तिका परीक्षण हुन नसके निर्धारित मितिमा नतिजा प्रकाशन गर्न असम्भव हुने बोर्डका कर्मचारीले बताए ।

प्रवक्ता सापकोटाका अनुसार शिक्षक आन्दोलनले विद्यालयहरूमा पठनपाठनबाहेक सबै शैक्षिक गतिविधिमा असर पुगेको छ । ‘चैत शैक्षिक सत्रको समापन र नयाँ शैक्षिकसत्रको थालनी गर्ने बेला हो । उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, शैक्षणिक योजना निर्माण, अभिभावक परामर्श, भर्ना तयारी गर्ने बेला हो,’ उनले भने, ‘शिक्षकहरू विद्यालयमा सक्रिय हुनुपर्ने बेला हो । आन्दोलनमा लागेर अनुपस्थित हुँदा अभाव खड्किएको छ ।’

शिक्षकको माग र आन्दोलनबारे सरकार र सरोकारवाला पक्षको ध्यानाकर्षण भएको जनाउँदै प्रवक्ता सापकोटाले वार्ता र संवादमा आउन अपिल गरे । ‘विद्यालय शिक्षा ऐन जारी गर्न शिक्षा मन्त्रालयले सहजीकरण गरिरहेको छ । छिटो निकास दिन शिक्षकहरूको पनि सहयोग चाहिएको छ,’ उनले भने । शिक्षक महासंघले भने वार्ता बस्न अस्वीकार गर्दै २०७५, २०७८ र २०८० मा सरकारसँग भएको सहमतिअनुसार शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने बताएको छ ।

Teachers still on the streets for the fourth day, refused to talk

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले वार्तामा बस्न आवश्यक नरहेको जनाउँदै पूर्वसहमतिअनुसार शिक्षा ऐन जारी गर्न सरकारलाई आग्रह गरे । संसद् अधिवेशन अन्त्य भएकाले ३ विकल्पबाट विद्यालय शिक्षा ऐन पारित गर्नुपर्ने प्रस्ताव महासंघले अघि सारेको छ । अध्यादेश, संसद्को बर्खे अधिवेशन डाकेर वा विशेष अधिवेशन डाकेर ऐन पारित गर्न सकिने सुवेदीले बताए ।

सरकारले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठको संयोजनमा शिक्षकसँग वार्ताको तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकको माग सम्बोधन गर्ने जनाएका छन् । शनिबार थाइल्यान्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले शिक्षकहरू अहिलेको सरकारसँग विश्वास गरेर र यो सरकारले आफ्ना आवाज सुन्छ भनेर प्रदर्शनमा आएको भन्दै धन्यबाद दिए ।

उनले भने, ‘पहिला प्रदर्शन गर्नुहुन्न थियो नि यसरी । किनभने, प्रदर्शन गरेपछि पनि कानमा बतास लाग्दैन भने, किन प्रदर्शन गर्ने ? अहिले आवाज उठाएपछि सरकारले सुन्छ भन्ने विश्वास छ ।’

उनले सरकार शिक्षकविरोधी नभएको र शिक्षकहरू पनि सरकारविरोधी नभएको उल्लेख गर्दै मागहरू परस्परमा बसेर छलफलबाट टुंग्याइने बताए । प्रधानमन्त्री ओलीले काठमाडौं आएर प्रदर्शनको दुःख नगर्नसमेत आग्रह गरे । ‘हामी कुराकानी पनि गर्छौं । हामी उहाँहरूका कुरा सुन्छौं पनि । सरकारले कुनै नकारात्मक दृष्टिकोण राख्दैन । उहाँहरू यहाँ आइहाल्नुभएको छ, ठीक छ, आइरहनुपर्ने पनि थिएन । सानो डेलिगेसन आएर पनि हुन्थ्यो ।’

शिक्षकहरूले केही पेसागत र केही संविधान, संघीयताविपरीत माग राखेर आन्दोलनको घोषणा गरेका छन् । संविधानले माध्यमिक शिक्षासम्म स्थानीय तहको एकल अधिकार रहने व्यवस्था गरेको छ । तर शिक्षकहरूले स्थानीय तह मातहत बस्न अस्वीकार गर्दै आएका छन् ।

जिल्ला शिक्षा कार्यालय/इकाइ यथावत् राखेर शिक्षकको रेखदेख, खटनपटन, सरुवा, बढुवा, नियुक्ति, कारबाही व्यवस्थित गरिनुपर्ने उनीहरूको मुख्य माग छ । स्थानीय तहका जनप्रतिनिधि र शिक्षाविद्ले भने माध्यमिक तहसम्म एकल अधिकार हुनुपर्ने बताउँदै आएका छन् ।

विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य सूचना प्रविधि समितिमा विचाराधीन छ । समितिले विधेयकमाथि दफाबार छलफल गरी छिटोछरितो टुंगो लगाउन सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको छ ।

Teachers still on the streets for the fourth day, refused to talk

शिक्षा मन्त्रालयले विगतमा शिक्षक महासंघसँग विद्यालय शिक्षालाई तीनवटै सरकारको साझा अधिकार सूचीमा राख्ने, जिल्ला शिक्षा कार्यालय पुनःस्थापना गर्ने, अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने, बालविकास शिक्षक र विद्यालय कर्मचारीको दरबन्दी कायम गर्नेलगायतको सहमति गरिसकेको छ । सोही सहमतिअनुसार विद्यालय शिक्षा विधेयक पारित गर्न शिक्षकहरूले आन्दोलन गरेर दबाब दिएका

हुन् । २०८० भदौमा विधेयक संसद्मा दर्ता भएपछि शिक्षकले काठमाडौंमा ३ दिन प्रदर्शन गरेका थिए । सरकारले ऐन जारी हुँदा माग पूरा गर्ने प्रतिबद्धतासहित सहमति गरेपछि शिक्षक विद्यालय फर्केका थिए । विधेयक पारित गर्न ढिलाइ भएकाले शिक्षकहरू पुनः आन्दोलित बनेका हुन्।

कान्तिपुर

प्रतिक्रिया दिनुहोस्