शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो
म्याग्दी : शतायु नाघेका म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, बगरफाँटका खड्गबहादुर थापा शारीरिक तथा मानसिक रूपमा स्वस्थ छन्। नियमित दिनचर्या, खानपान र धार्मिक आस्थालाई जीवनको आधार बनाएका उनको दीर्घायु यहाँका मानिसहरूका लागि प्रेरणा बनेको छ।
विसं १९८३ मा जन्मिएका थापाले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनका थुप्रै कालखण्ड अनुभव गरेका छन्। राणा शासन, प्रजातन्त्र, पञ्चायती व्यवस्था हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा देशमा आएका परिवर्तन उनले नजिकबाट देखेका हुन्।
शतायु थापाको जीवन यात्रामा ८४ वर्षीया पत्नी खिरकुमारी थापाको साथ निरन्तर छ। पत्नी खिरकुमारीसँगै ७९ वर्षीया साली तुलकुमारी पनि उनीसँगै छिन्। बिहान सबेरै उठ्ने, पूजा–पाठ गर्ने र सादा जीवन बिताउने उनीहरूको दिनचर्या दशकौँदेखि उस्तै छ।
सय वर्ष पार गरेका थापा बिहानै उठछन्। पुसको जाडोमा बाहिर निस्केर घाम ताप्ने, घरआँगन वरिपरि हिँड्डुल गर्ने र हरिभजन गाउँदै दिन बिताउने गर्छन्। श्रीमती खिरकुमारीसँगै जीवनका सुख–दुःख, अभाव र सङ्घर्षसँगै भोगेका यी दम्पती समाजका लागि प्रेरणाका पात्र बनेका छन्। खड्गबहादुर भन्छन्, ‘सरकारले भत्ता दिएको छ, आफ्नै छोरानाति नभए पनि दाइभाइका छोरानातिले खबर लिने, आवश्यक परेको बेला साथ सहयोग दिने गरेका छन्। अरू कुरामा कुनै चासो पनि छैन र कसैप्रति कुनै गुनासो पनि छैन।’
खड्गबहादुर थापाको जीवन धार्मिक संस्कार र आस्थासँग गहिरो रूपमा गाँसिएको छ। बिहान उठ्नेबित्तिकै ईश्वर स्मरण गर्ने, मन शुद्ध राख्ने र अरूको कुभलो नचिताउने बानी उहाँको रहेको स्थानीय बताउँछन्।
हिन्दू धार्मिक मान्यताअनुसार दीर्घायु हुनु पूर्वजको आशीर्वाद, सत्कर्म र संयमित जीवनको प्रतिफल मानिन्छ। यही विश्वासमा हुर्किएको पुस्ताका प्रतिनिधि हुन् खड्गबहादुर थापा। उनी भन्छन्, ‘धन, सम्पत्ति भन्दा पनि मन शान्त भयो भने रोग लाग्दैन।’
अभावबीच बितेको सङ्घर्षपूर्ण जीवन
थापाको जीवन सहज थिएन। बाल्यकाल र युवावस्थामा आजको जस्तो सुविधा थिएन। खेतबारीमा श्रम गर्नु, घाँस–दाउरा गर्नु, टाढाटाढाबाट पानी बोक्नु नै दैनिकी थियो। थापा भन्छन्, ‘सकुन्जेलसम्म भारी बोक्ने, खेतबारीमा काम गर्ने गर्थे, शरीरलाई कहिल्यै पनि अल्छी हुन दिइनँ। शरीर बलियो थियो। दुःख त कति गरियो भनिसाध्य छैन।’
चिकित्सा विज्ञानका अनुसार प्राकृतिक र सन्तुलित आहारले मधुमेह, उच्च रक्तचाप र मुटुरोगको जोखिम कम गर्छ। थापाको जीवनशैलीले यही वैज्ञानिक तथ्य पुष्टि गरेको देखिन्छ।
दाम्पत्य समझदारी र पारिवारिक साथ
चौरासी वर्षीया श्रीमती खिरकुमारी थापा जीवनभरको सहयात्री बनेर श्रीमान्का साथमा छिन्। उनी भन्छिन्, ‘हामीले ठूला सपना देखेनौँ, मन मिलाएर जीवन बितायौँ।’
समाजशास्त्रीहरूका अनुसार सुदृढ पारिवारिक सम्बन्ध र भावनात्मक साथले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, जसले दीर्घायुमा मद्दत गर्छ। थापा दम्पतीको जीवन यसैको उदाहरण हो।
थापाले आफ्नो दीर्घायुको प्रमुख कारण धार्मिक आस्था र अनुशासनलाई मान्छन्। उनी हरेक दिन बिहान स्नानपछि पूजा–पाठ गर्ने गर्छन्। ‘मन शान्त भयो भने शरीर आफैँ ठीक हुन्छ,’ उनले भने।
चिकित्सकहरूका अनुसार शतायु पार गरेका धेरै व्यक्तिहरूमा समान जीवनशैली देखिन्छ। कम तनाव, नियमित हिँड्डुल, सन्तुलित आहार र सकारात्मक सोच दीर्घायुका मुख्य आधार मानिने चिकित्सकहरू बताउँछन्। ध्यान, प्रार्थना र सामाजिक सक्रियताले मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने अनुसन्धानले देखाएको छ। ‘धार्मिक अभ्यास र ध्यानले तनाव कम गराउँछ, जसले दीर्घकालीन स्वास्थ्यमा सहयोग पुर्याउँछ,’ नविक आनन्द योग केन्द्रका योगगुरु नवीन जुग्जालीले बताए।
युवावस्थामा खेतीपाती र मजदुरी गर्दै गुजारा चलाएका थापाले गरिबी र अभावका दिन पनि देखे। ‘खान नपाएको दिन आयो, तर गलत बाटो कहिल्यै समातिनँ,’ उनले भने, ‘दुःखलाई स्वाभाविक रूपमा स्वीकार गर्न सक्ने मानिस मानसिक रूपमा बलियो हुन्छ। धेरै चिन्ता गर्ने मान्छे छिट्टै थाक्छ।’
नयाँ पुस्तालाई सन्देश
शतायु थापाले नयाँ पुस्तालाई अनुशासित र संयमित जीवनशैली अपनाउन सुझाव दिएका छन्। ‘छिटो सबै चाहने बानीले शरीर र मन दुबै बिगार्छ,’ उनले भने। मदिरा, धूम्रपान र असन्तुलित खानपानबाट टाढा रहन सके दीर्घायु सम्भव हुने उनको धारणा छ। आधुनिक जीवनशैली, असन्तुलित खानपान, मानसिक तनाव र रोगको चपेटाका कारण मानिस अल्पायुमै थला पर्दै क्रम बढ्दै गएको अवस्थामा शतायु वृद्ध थापा नयाँ पुस्तालाई अनुशासित र संयमित जीवनशैली अपनाउन सुझाव दिएका छन्।
स्थानीय बासिन्दाले खड्गबहादुर थापालाई ‘जीवित इतिहास’ का रूपमा सम्मान गर्छन्। स्थानीय समाजसेवी नारायण कार्की भन्छन्, ‘इतिहास किताबमा मात्र होइन, यस्ता व्यक्तिमा पनि सुरक्षित हुन्छ।’
शतायु पार गरेका खड्गबहादुर थापाको जीवनले दीर्घायु केवल औषधि वा सुविधाले होइन, जीवनशैली, अनुशासन र मानसिक सन्तुलनले सम्भव हुन्छ भन्ने सन्देश दिएको छ। आधुनिक जीवनशैलीका कारण बढ्दो तनाव र रोगबीच उनको जीवन समाजका लागि प्रेरणाको स्रोत बनेको छ।



