तस्बिर !!!
चर्कियो छाती, दर्किए आँखा तस्बिर देखेर
मनको हाल, बर्णन गर्न, सक्दिनँ लेखेर।
पत्थर पनि, पग्लन्छ होला, हेर्दा यो तस्बिर
छैटीको दिन,भावीले किन ? लेख्यो यो तग्दिर!!
फोहोरी खाल्डो, नबस्ला जस्तो, भैंसी नि आहाल
यस्तोमा सुत्नु, बाध्यता कस्तो, किन यो बेहाल!!
२फुटे टेका, बाँसका छेका, प्लास्टिक छाएको।
हिलो र गादो, त्यसमै सुत्न, दुखले ल्याएको ?
आक्रान्त कति भएका होलान् भोक र प्यासले
तैपनि ओत खोजेका होलान् बाँचिने आसले ।
मायाले नानी, छातीमा च्यापी सुतेझैँ मल्मल्मा
कसरी मस्त निदाए कठै! हिलाम्मे दल्दल्मा !!
काखमा नानी, च्यापेर सानी, थिइन् कि, बसेकी
जसरी पनि ,जोगाउँ भनी, कम्मर कसेकी ।
गाँस न बास, कपास कठै, के खानु कप्लक्क!
भोकले गल्यो, शरीर ढल्यो हिलोमा घप्लक्क!!
यसै हो भन्न, नसक्ने यिन्को, कस्तो यो, हालत!
होलाकी सास, बने कि लास, आमा र बालक।
ईश्वर तेरो रचना भित्र कस्तो यो ? आपत्ति
कसरी पार्न, सकेको तैंले, याँसम्म दुर्गति !!
सहन्छे नारी शिरैमा खसे आकाश दुखको
सहन्छे आमा! कसरी तर सन्तान्को दुख यो।
निरीह आमा विवश हाय : क्रुर यो नियति
विवेक मासी, नदेन दैव, विन्ती यो बिपत्ति!!
विधाता माया, छैन कि तँमा, यी दुखीहरुको
निष्ठुरी खेल, तैं खेल्छस् भने, के भर अरुको।
कि जन्म दिदै, नदिनु दैव, मासिदे सृष्टि नै
होइन भने, सबैमा पुगोस्, दयाको दृष्टि चैँ …….
✍️ कविः सरस्वती बुढाथोकी, दमक, झापा।