कमल गाउँपालिकामा कुष्ठरोग अभिमुखिकरण तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

कमल, १२ फागुन – झापाको कमल गाउँपालिकामा स्वास्थ्य शाखा, कमल गाउँपालिकाको आयोजना तथा नेपाल कुष्ठरोग संगती (नेपाल लेप्रोसी फेडेरेसन) को सहकार्यमा कुष्ठरोग अभिमुखिकरण तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन भएका प्रमुख गतिविधिहरूको समीक्षा गर्दै, बालबालिकामा कुष्ठरोग संक्रमण रोकथाम, समुदायमा जनचेतना अभिवृद्धि, सक्रिय बिरामी खोजी, पूर्ण उपचार व्यवस्थापन तथा कुष्ठरोग सम्बन्धी विभेद न्यूनीकरणका विषयमा विस्तृत छलफल भएको थियो ।

स्वास्थ्य शाखा प्रमुख, जनस्वास्थ्य निरीक्षक श्दिपक दाहालले प्रस्तुत गरिएको प्रतिवेदन अनुसार गत वर्ष २१ वटा सामुदायिक विद्यालयमा अभिमुखिकरण तथा स्वैच्छिक परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो ।

जसबाट ६,०३२ जना विद्यार्थी (छात्र २,६५७ र छात्रा ३,३७५) लाभान्वित भएका छन्। । साथै, ३२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो । समुदाय तथा सरोकारवालालाई लक्षित गरी १६ स्थानमा अभिमुखिकरण कार्यक्रम, १५ क्लष्टरमा सक्रिय बिरामी खोजी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइयो ।

स्वास्थ्य शिक्षा सामग्री प्रचारप्रसार, होर्डिङ बोर्ड स्थापना, पर्चा वितरण, स्वास्थ्यकर्मी क्षमता अभिवृद्धि तालिम, जटिल बिरामीहरूको प्रेषण सेवा निशुल्क, जुत्ता वितरण, स्वयं हेरचाह तालिम तथा नियमित फलोअप भ्रमण जस्ता कार्यक्रमहरू पनि सञ्चालन भएका छन्। ।

कमल गाउँपालिका र स्थानीय सरकारको सहकार्यमा पुनस्र्थापना कार्यक्रम अन्तर्गत घर निर्माण र मर्मत, बाख्रा तथा सुँगुर पालन र आयआर्जन सहयोगका कार्यहरू समेत सम्पन्न भएका प्रतिवेदनमा जनाइएको छ ।

गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकाल, महिला बालबालिका शाखा प्रमुख रिता कार्की, कमल नगर अस्पताल मेसु डा फुलकचन्द्र लावती अन्य कर्मचारी, अपाङ्गता समिति कमल गाउँपालिका, नेपाल लेप्रोसि फेडेरेसनका अधिकृत डिवि गुरुङ्ग तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो ।

अध्यक्ष राईले समीक्षा कार्यक्रममा भएका गतिविधिको प्रशंसा गर्दै, आगामी दिनमा नेपाल लेप्रोसि फेडेरेसन, कमल गाउँपालिका अपाङ्गता समिति र स्वास्थ्यकर्मीहरू मिलेर कुष्ठरोग नियन्त्रणमा अझ परिणाममुखी तथा संयमित काम गर्नुपर्नेमा जोड दिएका छन् । उनले कमल गाउँपालिकामा कुष्ठरोगलाई शून्यमा झार्ने लक्ष्य प्राप्त गर्न सबै सरोकारवालाहरूको एकजुट प्रयास आवश्यक रहेको उल्लेख गरे ।

आर्थिक वर्ष २०८२/०८३ मा बाँकी रहेका विद्यालयहरूमा कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता आएको स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्