झलमल्ल त्रिवि क्रिकेट रंगशाला
काठमाडौं : लक्ष्मीपूजाको दिन त्रिभुवन विश्वविद्यालय (टियू)अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला झिलिमिली देखिएको छ। कीर्तिपुरमा निर्माणाधीन क्रिकेट मैदानका ६ वटा टावरमा आंशिक रुपमा फ्लडलाइट बालेपछि मैदान उज्यालो भएको हो। रंगशालामा पोल नं १, ४, ५ र ६ मा हाइ मास्ट पोल बत्ती बालिएपछि सम्पूर्ण मैदान उज्यालिएको थियो। 
केपी शर्मा ओली प्रधानमन्त्री भएपछि २०८१ साल असार ३१ गतेको मन्त्रिपरिषद्को पहिलो निर्णयमा परेको थियो, कीर्तिपुरमा क्रिकेट रंगशाला। निर्णयपछि ओलीले सामाजिक सञ्जालमा लेखेका थिए, “पहिलो निर्णय– क्रिकेट रंगशाला !! कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नको लागि प्यारापिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय भएको छ। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको छ। ”
त्यसपछि फ्लडलाइट जडान र प्यारापिट निर्माणका लागि बजेट छुट्याएर टेण्डर आह्वान भएको थियो। २०८१ फागुनमा प्यारापिट बनाउन रु ४९ करोड २५ लाख र फ्लडलाइट जडानका लागि रु ४७ करोड ३७ लाखमा छुट्टाछुट्टै सम्झौता भएको थियो। ३०० दिनभित्र टियु क्रिकेट रंगशालाको निर्माण सम्पन्न नभएपछि ओलीले सहरी विकास मन्त्रालय र निर्माण कम्पनीका प्रतिनिधिलाई स्पष्टीकरण सोधेका थिए। 
पहिलो ६५ दिनमा निर्माण काम नसकिएपछि सरकारले अन्तिम पटकका लागि भन्दै असार मसान्तसम्म समय तोकेका थिए। द्रूत गतिमा काम भएपनि नसकिएपछि हर्जना तिरेर कम्पनीले काम गरिएको छ। सम्झौताअनुसार आयोजनाको कूल रकमको शून्य दशमलव शून्य पाँच प्रतिशत दैनिक हर्जाना तिर्नुपर्ने सहरी विकास मन्त्रालयले जनाएको छ।
पहिलो चरणमा १० हजार क्षमताको तयार गर्ने र दोस्रो चरणको काम सकिएपछि २५ हजार दर्शक अट्ने रंगशाला, कमेन्टेटर बक्स, चेन्जिङ रुम र प्रेस बक्सलगायत आवश्यक संरचना तयारगर्ने गरी काम अगाडि बढेको थियो। त्रिवि क्रिकेट रंगशालाको स्तरोन्नतिको लागि चालु आर्थिक वर्षमा सरकारले ४० करोड बजेट विनियोजन गरेको छ। आगामी १ मंसिरबाट सुरु हुने एनपीएलभन्दा अघि नै रंगशालाको पहिलो चरणको काम सक्ने धमाधम निर्माण भइरहेको छ।
दोस्रो चरणको गुरुयोजना स्वीकृत
यसैगरी गत बिहीबारको मन्त्रिपरिषद्को बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा त्रिवि परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको दोस्रो चरणको गुरुयोजना स्वीकृत भएको छ। गुरुयोजना अनुसार रंगशाला निर्माण गर्न करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। गुरुयोजनाबमोजिम बाँकी कार्यको बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अगाडि बढाउन स्वीकृत प्रदान गर्ने निर्णयसमेत गरेको छ।



