गुरुङ जातिको भेषभूषा, संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यका साथ मिस एण्ड मिसेस गुरुङ २०८२ को भव्य उद्घाटन तथा ओरिएन्टेशन समारोह सम्पन्न

काठमाडौं, साउन २ गते – गुरुङ समुदायको संस्कृति, परम्परा तथा महिलाको सशक्तिकरणमा केन्द्रित सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को उद्घाटन तथा ओरिएन्टेशन कार्यक्रम शुक्रबार, सामाखुसीस्थित विशाल फुटसलमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका कृषि मन्त्री माननीय रामनाथ अधिकारी रहनुभएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य, वरिष्ठ अभिनेता सरोज खनाल, पूर्व सांसद मान कुमारी गुरुङ, पूर्व डिआइजी डा. देउती गुरुङ, जिनोपे का प्रमुख कार्यकारी अधिकृत प्रिजम प्रधान, आयोजक शानु खान, रबी लामा तामाङ, केशव थापा, तथा नेपाल आइडल २०१७ का विजेता बुद्ध लामाको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रम एस.के. इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न भएको हो। यस संस्थाकी प्रबन्ध निर्देशक शान्ता लामा तामाङका अनुसार, “यस पटकको संस्करण अघिल्ला संस्करणहरूभन्दा बढी व्यवस्थित, भव्य र प्रभावकारी रहेको छ। साथै, नेपालमै पहिलो पटक पूर्ण रूपमा निःशुल्क आयोजना गरिएको सौन्दर्य प्रतियोगिता हो, जसमा सहभागी सबै महिलालाई निःशुल्क फारम, प्रशिक्षण तथा अन्य आवश्यक सहयोगहरू प्रदान गरिन्छ।”
‘मिस एण्ड मिसेस गुरुङ’ प्रतियोगिता विशेषगरी गुरुङ समुदायका महिलाहरूको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमता उजागर गर्ने, साथै गुरुङ जातिको भेषभूषा, संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यका साथ आयोजना गरिएको हो।
कार्यक्रममा अतिथिहरूका प्रेरणादायी मन्तव्य, सांस्कृतिक झल्को, सहभागीहरूको उत्साह र आयोजकहरूको व्यवस्थापनले समारोहलाई विशेष बनाएको थियो।
कार्यक्रमको नेतृत्व समाजसेवी, व्यवसायी, राजनीतिज्ञ तथा चलचित्र ‘हिमालकी रानी’की नायिका शान्ता कुमारी तामाङले गर्नुभएको थियो। उहाँ जुम्बा क्विन २०१५ तथा मिसेस नेपाल आइकन २०१५ की उपविजेता समेत हुनुहुन्छ। साथै, उहाँ जय नेपाल इन्टरनेशनलकी संस्थापक समेत हुनुहुन्छ र लामो समयदेखि आदिवासी जनजाति तथा महिलाको सशक्तिकरणमा सक्रिय रहँदै आउनुभएको छ।