हामी विरोधी होइनौं, सचेत जनता हौं – अध्यक्ष निरोज खड्का

नेकपा (माओवादी केन्द्र), लालीगुराँस नगर समितिका अध्यक्ष निरोज खड्का । हामीले पछिल्लोपल्ट गरिरहेका गतिबिधि कुनै राजनीतिक आरोप वा भावनात्मक प्रतिक्रिया होइन — यो जनताका तर्फबाट उठाइएको जिम्मेवार र योजनाबद्ध हस्तक्षेप हो बताउछन । जनसरोकारका हरेक क्षेत्रमा स्पष्ट दृष्टिकोण, वैकल्पिक सोच र शान्त, तर दृढ प्रतिरोधको भावना पर्छ भन्ने उनी अध्यक्ष खड्का संग गरिएको कुराकानी
नगरपालिकाले कक्षा ११ र १२ तह मर्ज गर्ने निर्णय गरिरहेको सन्दर्भमा तपाईंको ठोस धारणा के हो?
यो निर्णय एकातर्फी, जनविरोधी र संविधानको मूल मर्मविरुद्ध छ। यो शिक्षा अधिकारमा गम्भीर हमला हो। हामी सोध्न चाहन्छौं — के +२ मा पढ्ने विद्यार्थी र तिनका अभिभावकबाहेक अरूले बोल्न नपाउने व्यवस्था बनाइँदैछ?
यदि खेत नभए मलका विषयमा नबोल्न मिल्दैन भने, यदि बाइक नभए सडकका विषयमा बोल्न पाइँदैन भने – यस्तो धारणा खतरनाक छ। शिक्षा सबैको सरोकार हो, जनताको हैसियतबाट उठाइएको प्रश्नलाई राजनीतिक स्वार्थ भनेर dismiss गर्नु अलोकतान्त्रिक सोच हो।
तपाईंहरूलाई आरोप लागिरहेको छ कि यो विरोध राजनीतिक प्रतिसोध हो। के यो सत्य हो?
हामी कुनै राजनीतिक प्रतिशोधको मनसायले होइन, नीतिगत आपत्तिका आधारमा विरोधमा उत्रिएका छौं। हामी मेयरज्यूको व्यक्तिगत विरोधी होइनौं – तर उहाँका पछिल्ला कार्यशैलीप्रति गम्भीर असहमति छ।
राजनीतिक चेतनाका आधारमा प्रश्न उठाउने हरेक व्यक्तिलाई विपक्षीको क्याम्पमा कोट्याउनु खतरनाक परिपाटी हो। आलोचना गर्ने सबै शत्रु होइनन्, समर्थन गर्ने सबै मित्र पनि होइनन्।
तपाईंले सामाजिक सञ्जालमा “सत्ता सधैँको हुँदैन” भन्ने चेतावनी दिनुभयो। के यो अतिवादी धारणा हो?
कदापि होइन। सत्ता घुम्ने चक्र हो। नेपाली राजनीतिक परिप्रेक्ष्यमा हेर्दा, स्थानीय तहको संरचना फेरिदै गर्दा गाबिसदेखि नगरपालिका बनाउँदा सम्म, प्रमुख दलहरूको वर्चस्व समयअनुसार फेरिँदै आएको छ। विशेष गरी नेकपा एमाले ले लामो समयसम्म गाउँ तहमा प्रभाव राखेको यथार्थ छ। जिल्लाका अधिकांश गाबिसहरूमा—बसन्तपुर गाबिसको अपवादबाहेक—एमालेले निरन्तर जित हासिल गरेको इतिहास छ। तर त्यस वर्चस्वले स्थायी स्वरूप लिन सकेन।
“सत्ता सधैंको हुँदैन” भन्ने भनाइ कुनै दलविशेषको विरोधका लागि मात्र होइन, सम्पूर्ण सत्ताधारी संरचनालाई जनताले दिन सक्ने विवेकपूर्ण स्मरण हो। सत्ता भनेको जनताबाट आएको अधिकार हो, जुन समयअनुसार जनताले फिर्ता लिन सक्छन्।
यदि कुनै व्यक्तिले यो अभिव्यक्ति द्वेषका साथ, हिंसात्मक सन्देश दिने उद्देश्यले, वा राजनीतिक उन्माद फैलाउन प्रयोग गर्छ भने त्यसले अतिवादको रूप लिन सक्छ। तर शान्तिपूर्ण तरिकाले जनचेतनाको रूपमा प्रयोग गरिएमा, यो अभिव्यक्ति अत्यन्तै स्वस्थ लोकतान्त्रिक परिपाटी हो।
तपाईंले वैकल्पिक नीति पनि प्रस्ताव गर्नुभएको छ। त्यो के हो?
हामी खाली विरोध मात्र गर्दैनौं, समाधान पनि दिन्छौं जस्तो
- SEE पछि उत्कृष्ट ग्रेड ल्याएका गरिब विद्यार्थीहरूलाई स्थानीय स्तरमै उच्च गुणस्तरीय शिक्षाको पहुँच दिन विशेष कार्यक्रम ल्याइनुपर्छ।
- कक्षा ९–१२ सम्म सीपमूलक शिक्षा (जस्तै मोबाइल मर्मत, गाडी मिस्त्री, कुक, मिनीटिलर मर्मत) शुरू गर्नुपर्छ।
- खाली जमिनलाई उत्पादनमा लगाउने — पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई आत्मनिर्भर बनाउने।
- कक्षा ३ देखि अनिवार्य कम्प्युटर शिक्षा।
- खेलकुद, संगीत, कला–साहित्य जस्ता क्षेत्रप्रति आकर्षण भएका विद्यार्थीलाई व्यावसायिक मार्गदर्शन।
- गुणस्तरिय शिक्षक र गतिशील प्रधानाध्यापक नियुक्त गरेर सम्पूर्ण शिक्षा प्रणालीलाई बलियो बनाउने।
यी उपाय अपनाउँदा लालीगुराँस नगर ‘शैक्षिक हब’ बन्नेछ, बसाइँसराइको दर घट्नेछ।
तपाईंले मेयरको पोस्टमा प्रतिक्रिया दिएपछि त्यो डिलिट गरियो। तपाईं के भन्न चाहनुहुन्थ्यो?
जनप्रतिनिधि भनेको जनताको आलोचना सुन्न सक्नुपर्ने हो। जब मैले पोस्टमा तथ्यगत प्रश्नहरू उठाएँ, त्यो डिलिट गरियो। त्यो संवादबाट भाग्ने प्रवृत्ति हो। हामी जन्म, हुर्काइ यही नगरमा गरेका जनता हौं। यही संस्कार–संस्कृतिमा रमाएका हौं। संरचना मासिँदै गएको देख्दा चित्त दुख्नु स्वाभाविक हो। यस्तो व्यवहारले जनतामा निराशा र असन्तोष बढाउँछ।
शिक्षा प्रणाली सुधारको दृष्टिकोणमा तपाईंको पार्टीले के देखेको छ?
शिक्षा केवल पढ्न जाने कुरा होइन। त्यो समाज परिवर्तनको मूल आधार हो। आजको शिक्षा प्रणालीले रोजगार दिन सक्दैन। जबसम्म समाजवादी विचारमा आधारित व्यावहारिक, वैज्ञानिक र सुलभ शिक्षा प्रणाली लागू हुँदैन, तबसम्म शिक्षित बेरोजगारको संख्या मात्रै बढ्छ।
हाम्रो लक्ष्य शिक्षा उत्पादनमुखी बनाउनु हो — पढेर कर्म गर्ने, स्वावलम्बी बन्ने र समाजको विकासमा योगदान दिने। लालीगुराँस नगरको समृद्धि केवल इँटा, गिट्टी र भवन निर्माणबाट होइन; खेत, बारी र अन्नबाली बाट हुने हो। ‘किसान बचाऊ, उत्पादन बढाऊ, नगर बनाऊ’ भन्ने मूल मन्त्रलाई व्यवहारमा उतार्न सकेमा, लालीगुराँस कृषिमा आत्मनिर्भर नगरपालिकाको नमुना बन्नेछ। नगरको लागि उपयुक्त प्राविधिक शिक्षा मोडेलमा बिशेष योजना ल्याउनुपर्ने हुन्छ जस्तो कृषि विज्ञान ,पशु विज्ञान, सूचना प्रविधि ,मेकानिकल र इलेक्ट्रिकल प्राविधिक शिक्षा ,स्वास्थ्य विज्ञान ,पर्यटन, आतिथ्य र घरेलु सीप ,होटल म्यानेजमेन्ट व्यवसाय र व्यवस्थापन लगायतका ब्वाहारिक शिक्षामा ध्यान दिनुपर्छ |
यहा मात्र होइन देशकै ठुलो समस्या युवा बेरोजगारी छन | युवाहरुको लागी लालीगुराँस नगरले तथा सरोकारवालाले के गर्नुपर्छ जस्तो लाग्छ ?
आजको लालीगुराँस नगरपालिकामा बेरोजगारी, वैदेशिक पलायन र अवसरको अभावले थुप्रै युवाहरू अन्यत्र जान बाध्य छन्। विद्यालय वा कलेज सकेर पनि आफ्नै नगरमा टिक्न, काम गर्न र व्यवसाय गर्न सक्ने संरचना नहुँदा युवाशक्ति बिस्तारै हतोत्साही हुँदै गइरहेको छ ।
यस परिस्थितिमा अब नगर, समाज र अग्रजहरू मिलेर युवालाई उद्यमशील बनाउने दीगो मोडेल स्थापना गर्नु आवश्यक छ। हामीले “स्वरोजगारयुक्त, आत्मनिर्भर र सम्भावनायुक्त युवा नगर”को परिकल्पना आत्मसात् गरेर अघि बढ्नुपर्छ। युवालाई व्यवहारिक क्षेत्रहरूमा प्रत्यक्ष तालिम दिन नगरपालिकाले कार्यक्रम सञ्चालन गर्नुपर्छ |
अर्गानिक खेती, तरकारी उत्पादन, बीउ संकलन ,गाई, बाख्रा, कुखुरा पालन फार्मिङ, कम्प्युटर मर्मत, साना मर्मत, सोलार सिस्टम फिटिङ, मिनी टिलर ,सिलाई–कटाई तथा घरेलु होटल व्यवस्थापन रस्थानीय पर्यटन बिकासमा बेरोजगार युवा समस्याको बोझ हैनन् सही नीति, तालिम र समर्थन पाए उनीहरू नगर समृद्धिका अग्रदूत बन्न सक्छन्।लालीगुराँस नगरले युवाको सम्भावना चिनेर, सामाजिक, राजनीतिक र आर्थिक स्तरमा उनीहरूलाई उद्यमशील बनाउने वातावरण तयार पार्ने हो भने, यहाँको भविष्य उज्यालो र आत्मनिर्भर बन्नेछ।
अन्यमा , सामाजिक–राजनीतिक सवालहरूमा तपाईंको धारणा के छ?
हाम्रो नगरको युवाशक्तिलाई राजनीतिक भाषणको दर्शक बनाउने होइन, रोजगारको कर्ता बनाउने हो। सीप, सहकारी र स्टार्टअपको माध्यमबाट युवालाई नगरमै स्थापित गरिन्छ।स्थानीय सञ्चार स्वतन्त्र र तथ्यमा आधारित हुनुपर्छ। दलको प्रचारक बन्नुको साटो जनताको निगरानी संयन्त्र बन्नुपर्छ।दलित, महिला, जनजाति, गरिब– सबैको आवाज निर्णय प्रक्रियामा पुग्नुपर्छ। महिला नेतृत्व प्रतिनिधित्वको ‘कोटा’ हैन, जिम्मेवारी र सम्मान हो।हाम्रो मुलुक आज दलाल पुँजीवादको चक्रमा फसेको छ। एउटा नेपालीको टाउकोमा झन्डै १ लाख ऋण छ। यस्तो अवस्थामा करको बोझ, शिक्षा शुल्क, बेरोजगारी सबैले थिचेको छ। त्यसैले समाजवादी राज्यसत्ताको बाटो अबको विकल्प हो। त्यसको शुरूआत हामी यही लालीगुराँस नगरबाट गर्छौं।