नेकपा (एमाले) दमकको अध्यक्षमा रामप्रसाद पौडेल निर्वाचित
दमक : नेकपा (एमाले) दमक नगर कमिटीको नयाँ नेतृत्व चयन भएको छ । शुक्रवार दोश्रो अधिवेशनको निर्वाचनबाट रामप्रसाद पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
नगर कमिटी अध्यक्षमा निर्वाचित पौडेलले खसेको कूल ३५८ मत मध्ये १६४ मत प्राप्त गरेर विजयी भए । युवा संघ दमकका पूर्व अध्यक्षसमेत रहेका पौडेलसंगै अध्यक्षका लागि भगवान बस्नेत, युवराज घिमिरे र सन्तोष दुलाल प्रतिस्पर्धीका रुपमा उत्रिएका थिए ।
पौडेलसंग प्रतिष्पर्धामा रहेका युवराज प्रतिष्ठित व्यवसायी हुन् भने बस्नेत जिल्लाकै स्थापित इटा उद्योगी हुन् भने दुलाल विद्यार्थी फाँटबाट राजनिितमा उदाएका व्यक्तित्व हुन् ।
यसैगरि, निर्वाचित पदाधिकारी तर्फ उपाध्यक्षमा उर्मिला ओली १८८ मत ल्याएर निर्वाचित भएकी छिन् भने सचिवमा गिरेन्द्र चम्लागाइँ १८१ मतसहित निर्वाचित भएका छन् । त्यस्तै, उपसचिव खुल्ला तर्फ झसराज ढकाल र महिलातर्फ सीता कार्की निर्वाचित भएका बताइएको छ ।
उपाध्यक्षमा निर्वतमान उपाध्यक्ष समेत रहेका दमक ८ का वडाअध्यक्ष धर्मप्रसाद दाहाल ‘दिपेश’, सहसचिवमा उम्मेदवारी दिएका युवा संघका निर्वतमान नगर अध्यक्ष डेन्जोङ लामा पनि निर्वाचनबाट पराजित हुन पुगेका थिए ।
निर्वाचनबाट युवा पत्रकार भूमिराज पराजुली लगायतकाहरु सदस्य पदमा निर्वाचित भएका छन् ।एमाले दमक नगर कमिटीको यो अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।