‘मसँग सुख–दुःखको गठबन्धन छ, केन्द्रको कागजी गठबन्धन इलाममा चल्दैन’
कांग्रेस उम्मेदवार डम्बर खड्कासँगको अन्तर्वार्ता :
२०७९ को चुनावमा तपाईं सुवास नेम्वाङभन्दा कनिष्ठ उम्मेदवार हुनुहुन्थ्यो । उपचुनावमा तपाईंभन्दा कान्छाहरू आए । समयले अचानक तपाईंलाई पो पुरानो पुस्ता देखाइदियो त ?
त्यसबेला त युवा नै म थिएँ । अहिले एक वर्षमा म बुढो त भइनँ होला (हाँसो) । किनभने, त्यसबेला मसँग लड्ने ७३ वर्षको आदरणीय दाइ सुवास नेम्वाङ हुनुहुन्थ्यो । त्यसबेला युवा–युवा भनिरहेका थिए । अब कांग्रेसमा त ७० वर्षसम्म युवा नै हुन्छ । म त ५० पनि पुगेको छैन । त्यसैले म युवा नै छु जस्तो लाग्छ ।
कस्तो छ यो पटकको चुनावी तयारी ?
राम्रै छ, गाउँ गाउँ कुदिरहेको छु । पहिले पनि गाउँमा बसेकै हो । साथीभाइकहाँ फेरि जाँदा हौसला भइरहेको छ । पहिलेभन्दा अहिलेको चुनाव फरक छ । पहिले एउटा हेभिवेट, राष्ट्रमै सम्मानित व्यक्तित्वसँग चुनाव लडेको हो । अहिले चाहिं आफूभन्दा जुनियर भाइहरू हुनुहुन्छ । त्यसैले सहजता महसुस गरेको छु ।
मान्छेहरूले हिजोआज नयाँ पुस्ता पनि खोज्न थालेका छन् नि !
नयाँ पुस्ता त इलामले हिजोअस्ति पनि खोजेको थियो । त्यसबेला ७३ वर्षको आदरणीय दाइ सुवास नेम्वाङलाई अनुभव र वरिष्ठताले छानेकै हो । अहिले हेर्दा म बुढो पनि भएको छैन, अनुभव र सिनियारिटीको आधारसँगै ३०/४० वर्षको राजनीतिक अनुभवले पनि मलाई नै माया गर्नुहुन्छ होला जस्तो लाग्छ ।
चुनावमा के मुद्दा लिएर जाँदै हुनुहुन्छ ?
हाम्रो जिल्लाको पश्चिम भेग अहिले पनि इलामको कर्णाली भनेर चिनिन्छ । २०४९ सालमा पनि त्यही नारा आएको थियो । अहिले त्यसलाई परिवर्तन गरेर यहाँको विकास निर्माणका कुराहरू, किसान, मजदुर र व्यवसायीलाई परेको अप्ठ्यारा, यहाँका स्वास्थ्य चौकी भवनहरू नभएका, विभिन्न विकास निर्माणका कुराहरू जुन गर्नुपर्नेछ र जुन अति आवश्यक छ, त्यही कुरालाई लिएर म गाउँमा जाँदैछु ।
अहिलेसम्म मतदाताको मनोविज्ञान कस्तो पाउनुभयो ?
पहिले एक/दुई वटा पार्टी मात्र थिए । अहिले मतदातालाई छान्ने अवसर छ । यो मलाई ठिक लाग्यो । भए पनि ठिकै छ, नभए पनि ठिकै छ भनेर भोट हाल्ने चलन थियो पहिले । अहिले ठिक छ भने छ, नभए छैन भनेर छान्ने ठाउँ भयो । मलाई एकदम खुशी लागेको छ । धेरै रोज्ने अवसरको बीचमा दक्षता, लगनशीलता जस्ता त्यो पनि नेपाली कांग्रेससँग जुन अनुभव छ, त्यो हेरेर मलाई छान्नुहुन्छ भन्ने लागेको छ ।
राजनीतिमा निरन्तरता पनि हुनुपर्यो । २०४६ सालदेखि अहिलेसम्म काम गरिराखेको र दशकौंदेखि विकास निर्माण र समाजसेवा गरिरहेको पाटोलाई पनि हेर्नुपर्यो नि ! भन्नेवित्तिकै सबै कुरा यथार्थमा हुँदैन नि !
अरू प्रतिस्पर्धीमध्ये मुख्य प्रतिस्पर्धी चाहिं कसलाई मान्नुभएको छ ?
मैले हिजो पनि मुख्य प्रतिस्पर्धी दौडमा जो–जो छन्, सबैलाई बराबर मानेको हुँ । अहिले पनि त्यही हो । यो हो भनेर भन्नै सकिन्न ।
कति नयाँ पार्टीहरू आइरहेका छन् । उनीहरू पुरानाले डेलिभरी दिन सकेनन् भन्दैछन् । तिनका सामुन्ने हामी नै काबिल छौं, हामी नै सक्षम छौं भनेर साबित गर्ने तपाईंका आधारहरू के–के राख्नुभएको छ ?
राजनीति भनेको परिपक्वता पनि हो । तलदेखि माथिसम्म एउटा ल्याएर विकास निर्माण गर्न सक्ने, जनतालाई सेवा–सुविधा दिन सक्ने पनि चाहियो । विकास निर्माण भन्दा कुन ठाउँमा के विकास गर्ने भन्ने पनि चाहियो । के गर्दा त्यहाँका जनताले भोलि राहत महसुस गर्छन् र त्यहाँ समाजसेवा हुन्छ भन्ने बुझेको पनि हुनुपर्यो ।
अर्को कुरा राजनीतिमा निरन्तरता पनि हुनुपर्यो । २०४६ सालदेखि अहिलेसम्म काम गरिराखेको र दशकौंदेखि विकास निर्माण र समाजसेवा गरिरहेको पाटोलाई पनि हेर्नुपर्यो नि ! भन्नेवित्तिकै सबै कुरा यथार्थमा हुँदैन नि ! त्यसकारणले नेपाली कांग्रेसमा जुन म उम्मेदवार छु, मैले हिजोदेखि समाजसेवा गरिराखेको हो । २०४६ सालमा पनि मलाई जेल हालेको थियो । २०६२/६३ सालमा पनि मलाई गोली हानेको थियो । म बच्न सफल भएँ । निरन्तर राजनीतिक रूपमा काम गरिराखेको, हरेक गाउँघर, कुना–काप्चा पनि थाहा भइरहेको र कहाँ के विकास गर्न सकिन्छ भन्ने पनि मलाई थाहा भएको र लगातार काम गरिराखेको आधारमा अनुभवी नै मान्छे उहाँहरूले पनि खोज्नुहुन्छ होला । त्यो अनुभव मसँग पनि छ भन्ने मेरो दृढ संकल्प छ ।
तपाईंहरूलाई गठबन्धनको लाभ थियो, त्योबेला । अहिले अर्कोतिर सरेको छ, के भन्नुहुन्छ ?
गठबन्धन चाहिं कागजमा सरेको हो । यहाँ चाहिं मेरो गठबन्धन ठूलो जस्तो लाग्छ । किनभने, हिजो कोरोनाले छट्पटाएका यहाँका बिरामीलाई सेवा गर्ने बेला म थिएँ । हिजो माओवादी साथीहरू, द्वन्द्वकालमा घाइते भएका साथीहरूलाई उपचार गर्ने, कतिपय साथीहरूलाई अप्ठ्यारो परेका बेला सहयोग गर्ने, कतिपय बेला साथीहरू थुनामा परेका बेला नेपाली कांग्रेसले/हामीले उहाँहरू त्यस्तो होइन भनेर ज्यान बचाउने कार्य गरेका छौं । त्योदेखि बाहेक यहाँ फुटबल हुँदा सधैँ साथीहरूसँग जोडिएका छौं । मठमन्दिर, गुम्बा बनाउँदा हामीहरू सबै जोडिएका छौं ।
ती हरेक दुःख–सुखमा हाम्रो मनभित्रको गठबन्धन छ । त्यहाँ कागजमा बनेको गठबन्धनले यहाँ थाम्छ जस्तो लाग्दैन । किनभने, सुख–दुःखमा सारथि भनेर स्थानीयसँग काम गरेका छौं । मेरो गठबन्धन सुख–दुःखसँगको हो, इलामेली जनतासँगको हो । मनभित्र, मुटुभित्रको गठबन्धन छ । उहाँहरूको त कागजको गठबन्धन हो ।
तर, मान्छेहरू डम्बर खड्का ऊर्जाशील हुँदाहुँदै पनि आफ्नै पार्टीका साथीहरूसँग बलियो गठबन्धन बनाउन सक्दैनन् भन्छन् नि !
यसपालि त्यो पनि बनाएँ । सबै नेताहरू मसँग हिंड्नुभएको छ । नेपाली कांग्रेस एकढिक्का छ । परिस्थितिले बनायो । अब नेपाली कांग्रेस सच्चिनुपर्छ । नेपाली कांग्रेस सच्चिएर जितेर गएन भने लोकतन्त्र खतरामा पर्छ । लोकतन्त्रको संरक्षण गर्न, प्रजातान्त्रिक पार्टीलाई एकढिक्का हुनुपर्छ भनेर सबै कांग्रेसजन एकढिक्का हुनुहुन्छ । पार्टीभित्र मलाई एकदमै अनुकूल परिस्थिति छ । त्यत्तिको व्यक्तित्व भएको मान्छेसँग तपाईं ११४ मतले मात्रै पराजित हुनुभएको हो, त्यसैले तपाईंलाई त्यसबेला पनि विश्वास गरेको हो, यसपालि पनि गर्ने हो भनेर सबैले भन्नुभएको छ । इलाममा बसेर निरन्तर जनताको सेवा गर्ने तपाईंहरू नै हो भन्नुभएको छ ।
यो डेढ वर्षयता पहिचानको मुद्दाहरूले धेरै मान्छेको मनोविज्ञानलाई उथलपुथल बनाइदिएको छ । धेरै मान्छेले आफ्नो सांस्कृतिक पहिचान, जातीय अस्तित्वलाई प्रतिनिधित्व गर्ने उम्मेदवारलाई भोट हाल्नुपर्छ पनि भनेका रहेछन् नि !
अन्य पार्टीका मान्छेले भनेका हुन्, भन्नु पनि पर्छ । तर, नेपाली कांग्रेसका साथीहरूले त्यसो भन्नुहुँदैन । किनभने, मैले किरात धर्मगुरु आत्मानन्द लिङ्देनज्यूलाई उहाँले जगतको कल्याणका निम्ति, अहिंसा, संसारका प्राणीहरूको कल्याणका लागि किरात धर्म संसारभरि फैलाइरहनुभएको छ । उहाँले गरेका कार्यप्रति इलामेली जनताले नागरिक सम्मान गर्नुपर्छ भनेर सम्मान गर्यौं । त्यसपछि उहाँले मलाई के भन्नुभयो भने– सभापतिजी, तपाईंले एउटा काम गर्नुस्, नेपाली कांग्रेसले मात्र यो काम गर्न सक्छ ।
२००७ सालमा राणाशासनलाई अन्त्य गर्यो, पञ्चायती व्यवस्थालाई मिल्कायो, ज्ञानेन्द्र प्रशासनलाई मिल्कायो, शान्ति वार्ता गर्यो, संविधान बनायो, त्यसकारणले पहिचानको मुद्दालाई पनि कांग्रेसले हेर्दिनुस् भनेपछि मैले १४ जना सभापतिहरूलाई इलाममा बोलाएर कतिपय मान्नुभएको थिएन, सबैलाई सम्झाएर इलाममा बोलाएँ ।
म प्रदेशको पनि सभापति हो । मैले पहिचानलाई समर्थन गरेको छु । एक नम्बर प्रदेशको सभापतिहरूलाई बोलाएर पहिचानको पक्षमा पुनर्विचार गरियोस्, नेपाली कांग्रेसले यसको पक्षमा बोल्नुपर्छ भनेर निर्णय गराएर लिखित प्रेस विज्ञप्ति लिएर पार्टी सभापतिकहाँ गएको छु ।
शेरबहादुर देउवा, गगन थापा, विश्वप्रकाश शर्मालाई भेटेको छु । त्यहाँ गएपछि शेरबहादुर दाइले मलाई सोध्नुभयो, तपाईं क्षेत्रीको छोरा, यो पहिचानको कुरा लिएर किन आउनुहुन्छ ? अनि मैले भने, ‘पहिचान भनेको एउटा सभ्यता हो । त्यो सभ्यताभित्र हामी छौं । यता राईको घर छ, यता लिम्बूको, तामाङको छ, यता बाहुनको घर छ, यता क्षेत्रीको घर छ । सबै हामी मिलेर बसेका छौं । यहाँ धार्मिक द्वन्द्व छैन, विवाद छैन, एकले अर्काको चाडवाड मनाएका छौं । सबै कुरा मिलेर बसेका छौं भने एउटा उहाँहरूले नामांकनको विषयमा राखेको कुरा, उहाँहरूले राखेको पहिचान खोजेको कुरा दिनुपर्छ । त्यो नेपाली कांग्रेसले दिनुपर्छ । सभ्यता, सबै कुरा मिलिसकेपछि जातको कुरा के आयो भनेको हुँ ।
त्यसपछि उहाँले मुख्यमन्त्रीलाई फोन गरेर तीन पटक वार्ता भयो । अहिलेको मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा वार्तामा बसेको छ । पुनः नामांकन गर्नुपर्छ । उहाँहरूले राखेको माग के हो, उहाँलाई चित्त बुझ्ने किसिमको, एक नम्बरवासीलाई चित्त बुझ्ने किसिमको हुनुपर्छ भनेर अगुवाइ मैले आफैं गरेको छु । कांग्रेस यसपालि जित्दा ९० सिट हुन्छ, यो पार्टीले यो मुद्दा उठाइरहेको छ भने घरमा भात पाकिरहेको छ, कार्यकर्ताले होटलमा भात खान त जानुभएन नि ! होटलमा जानलाई त पैसा तिर्नुपर्यो । हामी आफैं पहिचानको पक्षमा छौं भने साथीभाइ अरूतिर जानुपर्ने आवश्यकता नै छैन । हामीहरू कांग्रेसभित्रै बसेर त्यसको लागि लडौं भनेर मेरो स्पष्ट धारणा छ । त्यसैले साथीभाइ यताउता हुँदैनन् ।
यसरी उठाएको विषयप्रति स्थानीय मतदाताको प्रतिक्रिया के छ त ?
उहाँहरू एकदम खुशी हुनुहुन्छ । सभापति जत्तिको मान्छेले यत्तिको कुरा उठाउनुभएको छ, हामीहरू ठिक छौं भन्नुभएको छ । अन्तिममा मैले जे जति पनि इलाममा काम गरें, जनताको सेवा गरें, गरिब दुःखीको सेवा गरें । त्यो सेवाभावलाई हेरेर तीन वर्ष बाँकी छ, एकपटक यहाँका जनता, बुद्धिजीवी, व्यवसायी सबैले मलाई सेवा गर्ने मौका दिनुभयो भने काम गरेर देखाउँछु र काम गर्न सकिनँ भने फेरि अर्को पल्ट फेर्ने बेला आइहाल्छ । त्यसैले यो परीक्षण गर्ने समय पनि हो । त्यसैले तपाईंहरू सबै इलामका जनताले एकपटक सेवा गर्ने मौका दिनुस् ।
मैले हिजो अभर पर्दा र अप्ठ्यारोमा पनि यहीं बसेर सेवा गरें, भोलि चुनाव जितेको बेलामा पनि यहीं बसेर सेवा गर्छु । मैले के के गर्ने भन्ने प्रतिबद्धता पत्रमा छँदैछ । इलाम २० वर्षदेखि विकास निर्माणमा पछि परेको छ । २० करोडको योजना परेको छैन । ती योजनाहरू म ल्याउँछु । म इलाममा सेवा गर्छु । त्यसकारणले तपाईंहरूले सेवा गर्ने मौका मलाई दिनुहुन्छ भन्ने विनम्र आग्रह गर्न चाहन्छु ।
अनलाइनखबरका बसन्त बस्नेत र सुदीप श्रेष्ठबाट साभार