‘डिग्री माइला’ले दुई दिनमा ५ करोडमाथि कमाउने वितरकको अनुमान
काठमाडौं-‘डिग्री माइला’ले बक्सअफिसमा उच्च आम्दानी गर्ने संकेत गरेको छ। शुक्रबारबाट रिलिज हुने सिनेमाका लागि नेपाली हलहरुले दिएको शो संख्याले यस्तो संकेत गरेको हो।
सिनेमाले हालसम्म १ सय ५५ शो प्राप्त गरिसकेको छ। यसमा देशको ठूलो हल चेन क्यूएफएक्सले ५८ शो दिइसकेको छ भने अन्यहरुले दिएको कुल शो संख्या ९७ छ। यो संख्या अझ बढ्ने जानकारी वितरक गोविन्द शाहीले नेपाल लाइभलाई जानकारी दिए। शाहीले सिनेमाले शुक्रबार र शनिबार गरेर झण्डै ५ करोड व्यापार गर्ने अनुमान गरेको बताए।
उनका अनुसार सिनेमाले शुक्रबार २ करोड ५० लाख माथि र शनिबार ३ करोड बढीको व्यापार गर्ने अनुमान गरिरहेको दाबी गरे । यसअघि रामबाबु गुरुङ निर्देशित सिनेमा ‘कबड्डी-४’ले रिलिजको पहिलो शनिबार ३ करोड बढीको व्यापार गरेको बताउँदै सिनेमाको हाइप अनुसार यो आँकडा अनुमान गरिएको बताएका छन्।
ट्रेलर रिलिज भएयता दयाको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतिर आकर्षित गरिरहेको छ। ‘डिग्री माइला’ले नेपाली बक्स अफिसलाई वर्षको अन्तिममा सुखद् अन्त्य दिने संकेत गरेको छ।
रामबाबु गुरुङ निर्देशित सिनेमामा दयाहाङ राई शीर्ष भूमिकामा छन्। उनका अलावा सिनेमामा आँचल शर्मा, विजय बराल, प्रकाश घिमिरे, बुद्धि तामाङ,पुष्कर गुरुङ लगायतको अभिनय छ।
विदेशमा पनि आक्रामक ओपनिङको प्रक्षेपण
शुक्रबारदेखि नै अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले यो फिल्मलाई प्रमुख अन्तर्राष्ट्रिय बजारमा रिलिज गर्दैछ । सेभेन सिजनका रमेश ढकालका अनुसार मंगलबारदेखि मध्यपूर्वका यूएई, बहराइन र कतारका हलमा शो खुल्दैछ ।
अमेरिकामा ४० लोकेसनमा ७०० शो खुला भएको कम्पनीले जनाएको छ । अष्ट्रेलियामा पनि सबै राज्यमा एकसाथ रिलिज हुने जनाइएको छ । ‘कबड्डी ४’ कै तहमा ओपनिङ हुनसक्ने हाम्रो अनुमान छ,’ ढकालले भने । शैक्षिक बेरोजगारीको कथा पेश गर्ने यो फिल्मलाई सोसल-ड्रामा जनरामा राखिएको छ । यो फिल्मको रनटाइम २ घण्टा ३० मिनेट छ ।