के कवि गरिव हुनुपर्ने हो?
©रमेश पौडेल
साक्षात सरस्वतीको उपासक
सृजनाको मूल फुटाउने
बिकृतीको शूल छुटाउने
हरेक शब्दमा वाणी ओकल्ने
अज्ञानतालाई चिर्दै ज्ञानको ज्योती छर्ने
जगत र जीवन के हो भनी चिनाउने
ज्ञानको सागर
के कवि गरिव हुनुपर्ने हो?
न कसैसँग आशा छ
न कसैसँग निराशा छ
न आग्रह र पुर्वाग्रह छ
निरन्तर साधनामा तल्लिन
शब्दको बिज छर्दै
चेतनाको मलजल र गोड्मेल गर्दै
हर्दम ज्ञानको फल उमार्ने
निरन्तर साधानारत बिशुद्द कर्मयोगी
जो कुनै पारिश्रमिक वा फलको आशा नै राख्दैन
आफ्नै सृजना र सृष्टिमा भरोसा गर्छ
रङ्गी बिरङ्गी कृतिमा मख्ख पर्छ
पृथ्वीको परम सन्तुष्ट प्राणी
के कवि गरिव हुनुपर्ने हो?
कवि तिम्रा केही हज्जार पुरस्कारको लोभ गर्दैन
माल्यार्पण र प्रमाणपत्र थाप्दैन
कविता भन्न तिम्रा मुकाममा धाउँदैन
पुरस्कारसँग तिरस्कार साट्दैन
चटकेहरुको चटकमा नाच्दैन
ज्ञान-सागर,
बाणिशक्ति सरस्वतीका सच्चा पुजारी
आफ्नै मन्दिरमा साधना गर्छ
सत्सङ्ग चाहिए उहीँ आउने हो
तिर्खा लाग्नेले खोलो धाउने हो
के कवि यस्तै उस्तै र सस्तैमा किनिने
फाल्तु उपज हो?
कविताको ज्ञान-शक्तिले संसार उचालेको छ
कयौं तानाशाहलाई भुईमा पछारेको छ
उर्जा र शक्तिको आणविक भट्टी हो ऊ
चेतनाको धप्धप बल्दो सुर्य हो ऊ
जहाँ उभिन्छ, चेतनाको साम्राज्य खडा गर्छ
जहाँ टेक्छ, ज्ञानको सागर बगाउँछ
नबोल्नेको वाणी बन्छ
नदेख्नेको दृश्टि बन्छ
निराशामा आशा जगाउँछ
एकमा ब्रह्माण्ड हो ऊ
ब्रम्हान्डमा अनेक हो ऊ
मुल्यमा अमूल्य हो ऊ
बिचार र संवेगको रत्न हो ऊ
लोभ र लालच बिहिन
निरन्तर ज्ञान बाँड्ने दाता हो ऊ
खरिदने घृष्टता नगर