कमल गाउँपालिकाको बालमैत्री घोषणा कार्यक्रममा मुख्यमन्त्री कार्की आउने
दमक, १८ माघ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की यहि माघ २० गते, शनिबार झापा आउने भएका छन् । झापाको कमल गाउँपालिकाले आयोजना गरेको वालमैत्री स्थानीय शासन गाउँपालिका घोषणा कार्यक्रममा सहभागि हुन मुख्यमन्त्री कार्की झापा आउने भएका हुन् ।
क्याम्पास्थित गाउँपालिकाको कार्यालयमा आज (विहिबार) पत्रकार सम्मेलन गरि बालमैत्री घोषणाका लागि सवै तयारी पूरा भएको अध्यक्ष हुकुमसिंंह राईले जनाए ।
अध्यक्ष राईका अनुसार कमल–५ पाँडाजुङ्गीस्थित आदिवासी रंगशाला तथा स्मृती पार्कमा माघ २० गते शनिबार भब्य समारोहबीच बालमैत्री गाउँपालिका घोषणा कार्यक्रम सम्पन्न हुने भएको हो । सो कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यता रहने छ ।
खुशी राखौं बालबालिकाको मुहार !
बालमैत्री कमल समृद्धिको आधार !!
भन्ने उद्घोषसहित कमल गाउँपालिकाले विभिन्न चरणमा अभियानहरु सञ्चालन गरिसकेको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए । गाउँपालिकाले पत्रकार सम्मेलनमा जनाएनुसार कोशी प्रदेशमा बालमैत्री घोषणा हुने गाउँँपालिका मध्ये कमल गाउँपालिका पहिलो स्थानीय तह हो । त्यस्तैं, यसअघि, कोशी प्रदेशमा बालमैत्री घोषणा गर्ने चार वटा नगरपालिकाहरु छन् ।
पालिका अन्तर्गत कमल ४ वडाले २०७८ फागुन २३ गते पहिलो पटक वडालाई बामैत्री घोषणा गरेको थियो । त्यसपछि ७ नम्बर वडाले २०७९ बैशाख ९ गते, वडा न २ ले २०७९ बैशाख १४ मा, चौथो रुपमा ३ नम्बर वडाले २०७९ असार २४ गते, पाँचौ रुपमा कमल ५ ले २०८० असोज १२ गते, कमल ६ ले २०८० असोज २५ गते र कमल १ ले सातौ वडाका रुपमा २०८० असोज २६ गते बालमैत्री वडा घोषणा गरेको उल्लेख छ ।
पालिकाले २०७८ साल भित्र पालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्यका साथ काम तीव्र बनाएको र त्यसैअनुरुप लक्ष्यमा भने केहि ढिला भएपनि सफलता प्राप्त गर्न सफल भएको अध्यक्ष राईले बताए । बालमैत्री घोषणाका लागि प्रदेश सरकारले समेत सहमति पत्र प्राप्त भएपछि अव भने पालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्न लागिएको उनको भनाई छ ।
वालमैत्री घोषणाका लागि सेवा प्रवाहका ३६ वटा सुचक र संस्थागत १५ गरी ५१ वटा सुचक पूरा गरेपछि प्रमुख प्रशासकीय अधिकृत राजुकमार शाक्यले जानकारी दिए ।
उनका अनुसार बालमैत्रीका लागि कमलका ७ वटै वडातहमा त्यस सम्बन्धी राजनीतिक दल ,विभिन्न संघ संस्था, उद्योगी, ब्यवसायी, निजी तथा सरकारी विद्यालय, वाल क्लवका प्रमुख र प्रतिनिधि,सरोकारवालाहरुसंग छलफल गरिसकिएको छ ।
पत्रकार सम्मेलनमा पालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, बालमैत्री अभियान्ता सुमन ढकालले आ–आफ्ना बिचारहरु राखेका थिए । उनीहरुले बालमैत्री घोषणासंगै त्यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका थिए ।