बाल्यावस्था
हाँस्थ्यौँ खेल्थ्यौँ जिन्दगीमा रमाई
डुल्थ्यौँ आमासाथ औंला समाई
फर्के हुन्थ्यो जिन्दगी बाल्यकाल
हुन्थ्यो कस्तो दिव्य आहा कमाल ।
बारीकान्ला खेतका ती गरामा
खोलानाला स्वर्ग जस्तै धरामा
खेल्दाखेल्दै साँझ पर्थ्यो झमक्क
सम्झे पर्छौँ आज सम्पूर्ण छक्क ।
ईर्ष्या डाहा हीनता शून्य हुन्थ्यो
हाम्रो आत्मा फूलझैँ पुण्य हुन्थ्यो
लाप्पा खेल्थ्यौँ किन्तु झट्टै भुलेर
उस्तै हुन्थ्यौँ फेरि हामी घुलेर ।
हिँड्दै जान्थ्यौँ पाठशाला मिलेर
साथी साथी एकतामा खिलेर
जात्रामेला जान पाए फुरुक्क
रोके हुन्थ्यो देह रोई हुरुक्क ।
पौडी खेल्थ्यौं खेल टोपी लुकाई
भेडीगाँठो खेल हुन्थ्यो कुदाइ
बाल्यावस्था स्वर्ण हो काल हाम्रो
सम्झी ल्याएँ छैन केही नराम्रो ।
✍️ लेखक/कवि : बिन्दु दहाल (मूकदर्शक)