झापाको दमकमा ५ औँ दमक महोत्सव सुरु हुने 

दमक, १७ माघ : झापाको दमकमा ५ औँ दमक महोत्सव सुरु हुने भएको छ । दमक नगरपालिका-७ स्थित सयपत्रि टोलमा यहि माघ २८ गतेदेखि फागुन १२ गतेसम्म प्रदेशस्तरीय पाँचौ दमक महोत्सव सुरु हुने भएको हो ।

संघले विगतमा २०६२,२०६५,२०६६ र २०७४ सालमा महोत्सव सञ्चालन गरेको थियो । पछिल्ला महोत्सव यता संघले कोभिड लगायतका कारणले महोत्सवलाई निरन्तरता दिन सकेको थिएन् ।

आज (बुधबार) भएको पत्रकार सम्मेलनमा महोत्सवले स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप, उद्यमशीलता, प्रविधि हस्तान्तरण तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तुको बजार प्रवर्द्धन गर्न, व्यापारिक क्षेत्रको विकास गर्ने, बजार सबलिकरण गर्ने, इलम प्रशिक्षण केन्द्रको भौतिक पूर्वाधार निर्माण कार्यका लागी महोत्सव आयोजना गरिन लागिएको अध्यक्ष गोपाल गुरागाइले बताउनुभयो ।

संघले सदस्य तुलसीराम तिम्सिनाको संयोजकत्वमा प्रचारप्रसार, रुवल अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति,टिकाराम खतिवडाको संयोजकत्वमा स्टल व्यवस्थापन,ज्ञाननाथ पौडेलको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम सञ्चालन उपसमिति ,उमेश गजमेरको संयोजकत्वमा स्वमसेवक व्यवस्थापन, विवेक श्रेष्ठको संयोजकत्वमा उद्घाटन तथा समापन कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको छ । त्यसैगरि, शुष्मा निरौलाको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, हेमसागर अधिकारीको संयोजकत्वमा निर्माण,विद्युत,खानेपानी तथा सरसफाई व्यवस्थापन उपसमिति, भेनस श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य उपसमिति, सन्तोष साहको संयोजकत्वमा गेट निर्माण उपसमिति र कमल कटुवालको संयोजकत्वमा संघसंस्था समन्वय उपसमिति समेत गठन गरि काम धमाधम भईरहेको अध्यक्ष  गुरागाइले बताउनुभयो ।

दमक उद्योग वाणिज्य संघ दमकको आयोजनामा सुरु हुने महोत्सवमा ५ करोड सम्मको व्यापारिक कारोबार र १ लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। महोत्सव संयोजक राजु खड्काका अनुसार महोत्सवको बचत रकम इलम प्रशिक्षण केन्द्रको विकासमा लगानी हुनेछ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकार हरुको बेजोड प्रस्तुतिको साथै कृषि प्रर्दशनी, घरेलु उद्योगको प्रर्वद्धन, विद्यालयहरु बिच साँस्कृतिक कार्यक्रम, लागूऔषध सम्बन्धि सचेतना कार्यक्रम, उत्कृष्ट स्टल, पुरस्कार, स्थानीय भेषभुषाको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु वा सेवाको प्रर्दशनी खरिद बिक्रि, अत्याधुनिक प्रविधीद्वारा बाल उद्यान तथा खेल तमासा लगायतहरुको प्रदर्शनी रहेको प्रचार संयोजक तुलसीराम तिम्सिनाले बताउनुभयो ।

सो अवसरमा संघले महोत्सव प्रचारप्रसारमा सघाउँ पुरयाँउने उद्देश्यले महोत्सवको लोगो अंकित जर्सी समेत सञ्चारकर्मीहरुलाई हस्तान्तरण गरेका थिए । स्थानीय उत्पादनको विकास र बजारीकरणका लागि महोत्सव आयोजना गरिन लागिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्